तस्बिर : म्यान अफ द म्याच ट्रफि लिदैं आर्मीका अनिल मण्डल ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशलाई ८० रनको फराकिलो अन्तरले हराएको हो ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले ४३ ओभर एक बलमा अलआउट हुँदै एक सय ९५ रन बनायो । उसका लागि अनिल मण्डलले ८९ रन बनाउँदा कप्तान विनोद भण्डारीले ४१ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, राज शाही र दिवान पुनले समान दुई–दुई विकेट लिए । एक सय ९६ रनको लक्ष्य पछ्याएको कर्णाली ३३ ओभर तीन बलमा एक सय १५ रनमै समेटियो । उसका रविन्द्र शाहीले ३० रन बनाए पनि आठ खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । कर्णालीलाई एक सय १५ रनमै रोक्न आर्मीका सुशन भारीले चार तथा शहाब आलमले तीन विकेट लिए । आइतबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई वाग्मती प्रदेशले सात विकेटले हराएको छ ।