हेटाैंडा, चैत्र २५ । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि हुने निर्वाचन प्रकृया अन्तरगत आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले दिउँसो २:३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने जानकारी दिनुभयाे । उपसभामुखको निर्वाचन भने भोलि (चैत २७) का लागि तय गरिएको छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । उक्त प्रस्तावमाथि छलफलपछि निर्णय गरिने कार्यतालिकामा उल्लेख छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदकाे निर्वाचनका लागि मिति तोकेर प्रक्रिया अगाडि बढाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएकाे थियाे । संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक लिंग र दल हुने व्यवस्था छ । सभामुखमा रास्वपा र पुरुष उम्मेदवार चयन भएकाले उपसभामुख पद महिला हुने निश्चित छ । विपक्षी दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेकाले बहुमतप्राप्त रास्वपाले समर्थन गरेको दलका सांसद उपसभामुखमा विजयी हुनेछन् । २०७९ को निर्वाचनमा तत्कालीन सत्तारुढ दल एमालेले चौथो दल रास्वपालाई उपसभामुख दिने सहमति गरेको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद र एक स्वतन्त्र सांसद छन् ।