मकवानपुर, माघ १५ । प्रतिनिधिसभा निर्वाचनकालागि मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले ६ स्थानीय तहका ती मतदानस्थलहरुलाई अति संवेदनशील, ६० मतदानस्थललाई संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अनुसार अति संवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र छन् । सबैभन्दा बढी जिल्लाको बकैया गाउँपालिकामा ५ मतदानस्थलका ७ केन्द्र अति संवेदनशीलमा परेका छन् । यस्तै राक्सिराङमा ६, बागमतीमा ५, भीमफेदी, मनहरी र कैलाशमा एक–एक मतदानस्थल अति संवेदनशील सूचीमा रहेको उहाँले बताउनुभयो ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्रमा कुल ३ लाख १५ हजार ३३४ मतदाता कायम छन् । जसमा क्षेत्र नम्बर १ मा पुरुष ७९६२१, महिला ७८,८१० र अन्य ४ गरि १,५८,४३५ र क्षेत्र नम्बर २ मा ८२३३२ पुरुष, ७४,५६६ महिला र १ अन्य गरि १५६८९९ मतदाता छन् ।
यस्तै मकवानपुर क्षेत्र नम्बर १ मा ४० वटा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । भने, क्षेत्र नम्बर २ मा ६२ वटा वडा, १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र कायम भएको कार्यालयले जनाएको छ । यस बाहेक पनि जिल्लामा कैदीबन्दीका लागि भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौंडामै गरि दुईवटा निर्वाचन केन्द्र थप हुन सक्ने ढकालले बताउनुभयो ।