मकवानपुर, माघ १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरमा तीहजार भन्दा बढी कर्मचारी परिचालन हुने भएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडा प्रमुख हरि प्रसाद ढकालका अनुसार निर्वाचनमा ३ हजार ३६६ कर्मचारी परिचालन हने भएका हुन् ।
निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको भन्दै उहाँले निर्वाचन कार्यालयबाट २,२४४ जना र मतदान केन्द्रमै नियुक्त हुने १,१२२ जना कर्मचारी परिचालन हने जानकारी दिनुभयो । यस बाहेक निर्वाचनमा करिब १ हजार प्रहरी र १ हजार ९२३ निर्वाचन प्रहरी परिचालन हुने छन् ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्रमा कुल ३ लाख १५ हजार ३३४ मतदाता कायम छन् । जसमा क्षेत्र नम्बर १ मा पुरुष ७९६२१, महिला ७८,८१० र अन्य ४ गरि १,५८,४३५ र क्षेत्र नम्बर २ मा ८२३३२ पुरुष, ७४,५६६ महिला र १ अन्य गरि १५६८९९ मतदाता छन् ।
यस्तै मकवानपुर क्षेत्र नम्बर १ मा ४० वटा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । भने, क्षेत्र नम्बर २ मा ६२ वटा वडा, १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र कायम भएको कार्यालयले जनाएको छ । यस बाहेक पनि जिल्लामा कैदीबन्दीका लागि भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौंडामै गरि दुईवटा निर्वाचन केन्द्र थप हुन सक्ने ढकालले बताउनुभयो ।