हेटाैंडा, माघ ८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराउनुभएका चौधरीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।
पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा तीन वटा उजुरी नै खारेज भएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरुद्ध परेका दुवै उजुरी खारेज भएपछि उहाँहरूको उम्मेदवारी कायम भएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि खारेज भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरी छलफलमै रहेको आयोगले जनाएको छ ।
आयोगले आज बेलुका ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । भोलि दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।