मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले गैरसरकारी संघ संस्थाहरुले सरकारको सहयोगिका रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । ग्रामीण महिला सेवा केन्द्रद्धारा सञ्चालित बालिका शक्ति परियोजनाको सामाजिक परीक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले गैरसरकारी संघ संस्थाले सरकारको सहयोगिका रुपमा समुदायमा सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको हो ।
प्रमुख खुलालले तीन तहका सरकारकाे उदेश्य विकास र समृद्धि र विकास भएकाे भन्दै उहाँले समृद्धि र विकासका लागि सरकारकाे सहयाेगका रूपमा गैरसरकारी संस्थाले काम गर्नुपर्ने बताउनुभयाे । उहाँले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । गैरसरकारी संस्था राज्य संचालन संरचनाको एउटा महत्वपूर्ण साझेदारका रुपमा रहेको उहाँको भनाई थियो । उहाँले गैरसरकारी संघसंस्थाहरुको पारदर्शिताका लागि सामाजिक परीक्षण महत्वपूर्ण भएको र ग्रामीण महिला सेवा केन्द्रको कार्य सराहनीय भएको बताउनुभयो । ग्रामीण महिला सेवा केन्द्रले प्लान इन्टनेशनलसँगको सहकार्यमा सञ्चालन गरेको बालिका शक्ति परियोजनाको शुक्रबार सामाजिक परीक्षण कार्य गरेको हो । केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानलगायतको उपस्थिति थियो ।