हेटौंडा, माघ १२ । सहिद दिवस–२०८२ को तेस्रो दिन सोमबार सहिद स्मारक विकास समिति र नवयुवा (विद्यार्थी) बीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर सहिद दिवश मनाउने क्रममा आज सहिद स्मारक विकास समितिको आयोजना एवम् हेटौंडा उपमहागरपालिका ४ नम्बर वडा कार्यालयको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
सहिदहरूको त्याग, बलिदान र योगदानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले हेटौंडा ४ स्थित भुटनदेवी मावि, आधुनिक मावि र श्रमिक माविका विद्यार्थीहरुको सहभागितामा अन्तरकृया कार्यक्रम भएको हो । कार्यक्रममा सहिद स्मारकको ऐतिहासिक पृष्ठभूमि, महत्व र वर्तमान अवस्थाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा एमाले नेता केदार न्यौपानेले सहिद दिवसको महत्व, सहिदहरूको सपना र वर्तमान पुस्ताको दायित्वबारे प्रकाश पार्नुका साथै सहिद स्मारकले राष्ट्रको स्वतन्त्रता, अखण्डता र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा खेलेको भूमिकालाई संस्थागत रूपमा जोगाउन नवयुवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभएको थियो ।
त्यस्तै सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले सहिद स्मारकको संरक्षण, व्यवस्थापन, प्रवद्र्धन र दीगो विकासमा नवयुवाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले उहाँले सहिदहरूको सपना सम्झनु मात्र पर्याप्त नभई तिनको मर्मअनुसार राज्य र समाज अघि बढ्नुपर्ने समेत बताउनुभयो ।
अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले सहिद स्मारकलाई केवल स्मरणस्थल मात्र नभई इतिहास अध्ययन, राष्ट्रिय चेतना र पर्यटन प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रमले सहिद स्मारक केवल स्मरणको स्थल मात्र नभई राष्ट्रको इतिहास, चेतना र भावी दिशाको मार्गदर्शक केन्द्र हुनुपर्ने सन्देश दिएको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले बताउनुभयो । अन्तरक्रियामा सहिदहरूको त्याग, बलिदान र योगदानलाई भावी पुस्तासम्म जीवित राख्ने विषयमा छलफल भएको थियो ।