हेटौंडा, माघ १२ । मकवानपुर जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हेटौंडा–११, स्थित सहिद स्मारक विकास समितिको परिषद् बैठक सम्पन्न भएको छ । स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा समितिको १६औं परिषद् बैठक सोमबार (आज) सम्पन्न भएको हो ।
बैठकमा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यस्थत सहिद स्मारकलाई सहिदहरूको तीर्थस्थल, अध्ययन केन्द्र तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरिएको छ । अध्यक्षका तर्फबाट समितिका सचिव रघुनाथ खुलालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा स्मारकले रोजगारी, पर्यटन र आयआर्जनमा योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । प्रतिवेदनमा गत आर्थिक वर्षमा स्मारकलाई थप रमणीय बनाउने, सरसफाइ, सुरक्षा, रात्रीकालीन सेवा सञ्चालन, पर्यटन तथा व्यापार मेला आयोजना तथा सहिद अध्ययन अनुसन्धान केन्द्र सञ्चालनजस्ता कार्यक्रम सम्पन्न भएको उल्लेख गरिएको छ ।
बैठकमा बोल्नुहुँदै सहिद स्मार विकास समितिका अध्यक्ष पौडेलले सहिद स्मारक संरक्षण र विकासमा सबै सरोकारवालाको साझा जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्नुभयो । “सहिद स्मारक केवल एउटा भौतिक संरचना होइन, यो राष्ट्रको इतिहास, त्याग र बलिदानको जीवित प्रतीक हो, यसको संरक्षण र विकासमा सवै जिम्मेवार हुनपर्छ ।” उहाँले भन्नुभयो । सहिद स्मारकलाई दीगो र संस्थागत रूपमा अगाडि बढाउन सबै सरोकारवाला निकायको समान समझदारी र जिम्मेवारी अपरिहार्य रहेको भन्दै सहिदहरूको सपना साकार पार्ने दायित्व केवल एउटा समितिको मात्र नभई राज्य, स्थानीय तह र समाजको साझा कर्तव्य भएको उहाँले बताउनुभयो । सहिद स्मारकको संरक्षण र विकासमार्फत इतिहास जोगाउने काम आजको पुस्ताले गर्नैपर्ने उहाँको भनाई थियो ।
आजको बैठकले संस्थाको संस्थागत प्रतिवेदन, कोषध्यक्ष मनोज सुवेदीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै समितिका पूर्व सचिव स्वर्गीय सुदर्शन अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको सचिव खुलालले जानकारी दिनुभयाे ।