मकवानपुर, माघ ११ । उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) ले स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चुनावी अभियानका क्रममा पुर्वी मकवानपुरका स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उहाँले उक्त क्षेत्रका दीर्घकालीन समस्याहरू गम्भीर र तत्काल समाधानका लागि जोड दिएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
स्थानीयवासीका समस्या बुझ्न र समाधानका उपाय खोज्न विभिन्न स्थानमा निरन्तर भेटघाट र छलफल गरिरहनुभएका लामाले बागमती–२ लगायतका क्षेत्रमा प्राथमिक पूर्वाधार अभाव, कमजोर सडक सञ्जाल, तथा वर्षायाममा बारम्बार आउने बाढी समस्या जस्ता विषयलाई प्रमुख रुपमा औँल्याउनुभयो । उहाँले स्थानीयको आवाजलाई आफ्ना नीतिगत र कार्यान्वयन केन्द्रबिन्दु बनाउने बताउनुभयो ।
छलफलका क्रममा स्थानीयले उक्त क्षेत्रमा उचित पुल तथा सडक निर्माण नहुँदा यातायातमा व्यवधान भइरहेको, कमजोर सडक सञ्जालका कारण दैनिक आवागमन कठिन भएको साथै वर्षायाममा बारम्बार बाढीले स्थानीय कृषिजन्य तथा आवासीय क्षेत्र प्रभावित भएको बताएका थिए ।
निर्वाचन क्षेत्रमा जारी आफ्नो अभियानमा, इन्जिनियर लामा स्थानीयहरूसँग गहिरो विश्वास निर्माण गर्दै, सुशासन, समावेशी विकास र आधारभूत सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन्।
मकवानपुर–१ मा उज्यालो नेपाल पार्टीको चुनावी अभियान
स्थानीय समस्यालाई प्राथमिकतामा राख्दै समृद्धि सुनिश्चित गर्ने उम्मेदवार लामाको प्रतिबद्धता











