हेटौंडा, माघ २ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव माघ २८ गतेदेखि फागुन १२ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको हो ।
हेटौँडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, तेक्वान्दो, व्याडमिन्टन, कराँते तथा २२ किलोमिटर दौड प्रतियोगिता समावेश रहनेछ । राष्ट्रिय महिला भलिबल विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
महोत्सव अवधिभर सांगीतिक कार्यक्रम, सांस्कृतिक झाँकी, कृषि, पर्यटन तथा हस्तकला प्रदर्शनी, बाल उद्यान समेत रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ र समापन हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले गर्नेछन् । करिब ८० लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवबाट प्राप्त आम्दानी समितिको भवन निर्माण र खेल सामग्री खरिदमा खर्च गरिने आयोजकले जनाएको छ ।