भीमफेदी । नेकपा एमालेका सचेतक एवं मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश बर्तौलाले सामाजिक सुरक्षा कार्यक्रमको स्थायित्व र निरन्तरता जरूरी रहेकाे बताउनु भएकाे छ । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकामा सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा बाेल्दै सचेतक बर्ताैलाले अनौपचारिक क्षेत्रका श्रमिकहरूका लागि याेजना निकै राम्राे भएकाेले यसकाे स्थायित्व र निरन्तरता जरूरी रहेकाे बताउनुभएकाे हाे ।

उहाँले सबै प्रकारका श्रमिकलाइ सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने भन्दै सामाजिक सुरक्षा कोषको स्थायित्व र निरन्तरताका लागि तीनै तहका सरकारको लगानी र श्रमिकको सहलगानीसमेत जरुरी रहेको बताउनुभयो । उहाँले संगठित र औपचारिक क्षेत्रमा २७ लाख श्रमिकमध्ये हालसम्म चार लाख ७८ हजार श्रमिक आबद्ध रहेको र सामाजिक सुरक्षा कोषमा हालसम्म देशभरका एक सय १३ रोजगार दाता संस्थाहरु दर्ता भएकाे बताउनुहुँदै सबैलाइ समेट्नु पर्ने बताउनुभयाे ।
भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा ९८ जना कार्यक्रममा आवद्ध भएका छन् । यसअघि गत असारमा भीमफेदी गाउँपालिका कार्यालय र सामाजिक सुरक्षा कोषबिच भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सम्झौता भएको थियो । सामाजिक सुरक्षा योजना शुभारम्भसँगै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयन सुरुभएको छ । चालु आर्थिक वर्ष २०८०–८१ म पालिकाभित्रका एकसय जना अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई यस कार्यक्रममा समाबेश गर्ने योजना रहेको जनाईएको छ ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ । कोषमा योगदानपछि कोषबाट सञ्चालित विभिन्न योजनामा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सहभागी हुन पाउने छन् ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षता एवम् संघीय संस्दका सभामुख देवराज घिमिरेकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न गाउँपालिकाका प्रमुख एवम् उपप्रमुखहरु, सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिती थियो ।