भीमफेदी । सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नु तीनै तहका सरकारको दायित्व भएको बताउनुभएको छ । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकामा सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमको उद्धघाटन गर्नुहुँदै अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराएर कार्यक्रम कार्यान्वयन गर्नु रोजगारदातासँगै तीन तहको सरकारको दायित्व भएको बताउनुभयो । सभामुख घिमिरेले शारीरिक श्रमको सम्मान आवश्यक भएको भन्दै सामाजिक सुरक्षा कोषमा रहेको रकम उपयोगमा आउनु पर्ने र यसका लागि आफूले भूमिका निर्वाह गर्ने समेत बताउनुभयो ।
भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा ९८ जना कार्यक्रममा आवद्ध भएका छन् । यसअघि गत असारमा भीमफेदी गाउँपालिका कार्यालय र सामाजिक सुरक्षा कोषबिच भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सम्झौता भएको थियो । सामाजिक सुरक्षा योजना शुभारम्भसँगै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयन सुरुभएको छ । चालु आर्थिक वर्ष २०८०–८१ म पालिकाभित्रका एकसय जना अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई यस कार्यक्रममा समाबेश गर्ने योजना रहेको जनाईएको छ ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ । कोषमा योगदानपछि कोषबाट सञ्चालित विभिन्न योजनामा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सहभागी हुन पाउने छन् ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद महेश बर्तौला, विभिन्न गाउँपालिकाका प्रमुख एवम् उपप्रमुखहरु, सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिती थियो ।