बारा । बाराको सिमरा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा २५ वटा नयाँ उद्योगहरूले सञ्चालन अनुमति पाएका छन् । सेजको ‘ए’ ब्लकमा २५ उद्योगले सञ्चालनको लागि अनुमति पत्र प्राप्त गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यालय सिमराले जनाएको छ ।
अनुमति पाएका २५ उद्योगमध्ये चार वटा उद्योगले विशेष आर्थिक क्षेत्र प्राधिकरणसँग सम्झौता गरेर भौतिक पूर्वाधार निर्माण कार्य सुरु गरिसकेको विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा औराहाका प्राविधिक आनन्द भट्टले बताउनुभयो । सिमरा सेजमा उद्योग सञ्चालन गरे बापत प्रत्येक स्क्वायर फिट जग्गाको १० रुपैयाँका दरले उद्योगीहरूले भाडा तिर्नुपर्ने नियम रहेको भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुमति लिएका उद्योगहरूले अनुमति प्राप्त गरेको मितिदेखि एक सय २० दिन भित्रमा उद्योगका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सुरु गरिसक्नुपर्ने हुन्छ । अनुमति पाएका उद्योगहरूको भौतिक पूर्वाधार निर्माणमा पाँच अर्ब ७५ करोड लगानी हुने र उद्योगहरू सञ्चालन भए त्यसमा २९ सयभन्दा बढीले रोजगारी पाउने अनुमान गरिएको प्राविधिक भट्टले बताउनुभयो ।