मकवानपुर, पुस २१ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा भएको टाटा सुमो दुर्घटनामा मृत्यु भएका छ मध्ये चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो हिजाे साँझ दुर्घटना भएको थियो ।
आईतबार साँझ भएको दुर्घटनामा ९ जना घाईते मध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएका मध्ये हेटौडा–४ कमलडाँडा बस्ने बर्ष ४० की सबिता लम्साल, हेटौंडा–२ कान्तिराजपथ बस्ने वर्ष २९ को निखिल अग्रवाल, भारतको बिहार राज्य पटना बस्ने बर्ष ४२ को रजनिस कुमार र भारतको बिहार राज्य बेगुसराई बस्ने बर्ष ५० को अरबिन्द कुमारको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार अन्दाजी वर्ष ३५ र वर्ष ४० का दुईजनाको पहिचान खुल्न बाँकी रहेको छ । अन्य घाईते ३ जना मध्ये दुईजनाको चितवन स्थित पुरानो मेडिकल कलेजमा र एक जनाको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । उहाँका अनुसार सुमो चालक हेटौडा –४ कर्रा चोक बस्ने बर्ष ४५ को गणेश थापा र हेटौंडा– कमलडाँडा बस्ने सबिता लम्सालको छोरा बर्ष १२ को अभ्यास लम्साल र रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने बर्ष २१ कि रिचा चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
– सुमो दुर्घटना अपडेटः ६ जनाको मृत्यु
– मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाइते, ७ जनाको अवस्था गम्भीर











