मकवानपुर,२० पुस । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो दुर्घटना भएको हो ।
आईतबार साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो सडकबाट करिब एकसय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका छन ्। प्रहरीका अनुसार ७ जनाको अवस्था गम्भीर र बालक तथा बालिकासहित २ जनाको अवस्था मध्यम रहेको जनाईएको छ । घाईतेहरुको सनाखत हुन बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











