मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेपालका प्रथम सहिद लखन थापाको बलिदानीपूर्ण सघर्ष र योगदानलाई बिर्सन नहुने बताउनुभएको छ । सहिद सप्ताह–२०८१ का अवसरमा सोमबार हेटौंडा–१२, स्थित प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै पौडेलले लखन थापाले देश र जनताका लागि गरेको योगदानलाई अझ व्यापक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपाली जनता माथी जर्बजस्त थोपरिएको क्रुर एवम् निरंकुश जहाँनिया राणा शासनको अन्त्य गरि नेपाली जनताको मुक्तिका लागि र जनताको शासन व्यवस्था स्थापनाका लागि थापाको योगदान रहेको बताउनुभयो । उहाँले राणा विरुद्ध पहिलो बिगुल फुक्ने सहिद लखन थापाले बिचार अहिलेपनि सान्दर्भिक भएको भन्दै यसलाई व्यापक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले अहिले जाँहा जो मरेपनी सहिद घोषणा गरिनाले देश र जनताका लागि लड्ने वास्तविक सहिदको अबमुल्यन भएको बताउनुभयो ।

सहिद स्मारक विकास समितिले सहिद सप्ताह २०८१ का अवसरमा पाँचौ दिन आज हेटौंडा–१२ स्थित प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकामा विशेष कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा वाटीकामा रहेको प्रथम सहिद लखन थापाको प्रतिमामा माल्र्यापण गरिएको थियो । भने वाटीकाका सल्लाहकार बेली थापाले उहाँको बारेमा चर्चा गर्नु भएको थियो । प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकाका अध्यक्ष विश्वकुमार आलेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्मारक विकास समितिका सचिव रघुनाथ खुलाल, हेटौंडा–८ का पूर्व अध्यक्ष गोपाल बहादुर श्रेष्ठलगायतको उपस्थिती रहेको वाटीकाका सचिव सुवास थापाले जानकारी दिनुभयो ।

सहिद सप्ताह–२०८१ का अवसरमा सहिद स्मरक विकास समितिले हरेक वर्ष झै यो वर्ष पनि माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रम आयोजना गरेर दिवश मनाईरहेको छ । दिवशका अवसरमा पहिलो दिन झण्डात्तोलन, दोस्रो दिन पत्रकार भेटघाट तथा बधाई कार्यक्रम र तेस्रो दिन स्मारक परिषरमा विशेष सरसफाई, चौथो दिन रत्तदान र आज प्रथम सहिद लखन थापाको प्रतिमामा माल्र्यापण कार्यक्रम गरेको समितिका खुलालले जानकारी दिनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा नगर स्तरीय बाल क्लबहरुको सहभागीमा “लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता र शिक्षक संगठनको व्यवस्थापनमा शिक्षक दौड प्रतियोगिता र महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता आयोजना हुने सचिव खुलालले बताउनुभयो । यस्तै सप्ताहव्यापी कार्यक्रमाको अन्तिम दिन माघ १६ गते बिहान साढे ७ बजे बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, पुष्पार्पण, श्रद्धान्जली सभा र सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने सचिव खुलालले बताउनुभयो ।