हेटाैंडा, पुस २१, । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त निर्णयपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारीका लागि पहल गरेसँगै आज पुनः बैठक बस्न लागेको हो ।
गत असोज २९ गते नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए। १४औँ महाधिवेशनमा सहभागी कूल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गरेका हुन् ।
कांग्रेस विधानअनुसार कूल प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान रहेको छ। आजको बैठकमा यस विषयमा थप छलफल र निर्णय हुने अपेक्षा गरिएको छ।











