फाल्गुन १४, हेटाैंडा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक मतदान सामग्री पुगिसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणाली तर्फका गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा ढुवानी गरिसकिएको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा पुगेको जनाएको छ । स्वीकृत कार्यतालिकाअनुसार व्यवस्थापकीय कामहरू तालिकाबद्ध रूपमा तोकिएकै समयमा सञ्चालन भइरहेको आयोगको भनाइ छ । केही प्राविधिक सामग्री भने जिल्लास्तरमै व्यवस्थापन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदान सामग्री सम्बन्धित मतदान अधिकृतलाई हस्तान्तरण गरिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ गतेदेखि सञ्चालनमा रहेको छ । आयोगका अनुसार यो कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुनेछ । मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग विधि र बदर मत घटाउने उपायबारे जानकारी दिइँदै आएको छ ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरू सक्रिय रहेका छन् । आचारसंहिता उल्लंघनका घटनामा निगरानी बढाइएको आयोगले जनाएको छ ।
यता, फागुन ४ गतेदेखि राजनीतिक दलहरूले औपचारिक रूपमा चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन् । आयोगले प्रचारप्रसार गतिविधि प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट, मर्यादित र सभ्य ढंगले सञ्चालन गर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिइसकेको छ । निर्वाचन नजिकिँदै जाँदा सुरक्षा, व्यवस्थापन र मतदाता शिक्षालाई प्राथमिकतामा राख्दै आयोगले तयारी तीव्र पारेको छ ।