हेटौंडा, पुष–९ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले तयार पारेको ‘जबजका आयाम’ नामक पुस्तक आगामी पुष १८ गते लोकार्पण हुने भएको छ । फाउन्डेसनको आज बसेको कार्यसमिति बैठकले आगामी फागुन १८ गते विशेष कार्यक्रमको आयोजना गरेर पुस्तक लोकार्पण गर्ने निर्णय गरेको हो ।
आगामी पुष १८ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गर्ने निर्णय गरेको फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयाे । फाउन्डेसनले नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा जनताको बहुदलीय जनवाद (जबज) का सिद्धान्तकार जननेता मदन भण्डारीको विचार, दर्शन र बहसलाई समेट्ने उद्देश्यकासाथ पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा बैचारिक, सान्दर्भिक र रचनात्मक आयामहरु समेटिएको अध्यक्ष खुलालले बताउनुभयो ।
अध्यक्ष खुलालका अनुसार जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी विचार, सिद्धान्त र राजनीतिक यात्रालाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको छ । पुस्तकमा विभिन्न व्यक्तित्वहरुको बिचार, लेख, कविताका साथै जबजको सैद्धान्तिक पृष्ठभूमि, ऐतिहासिक विकासक्रम, नेपाली राजनीतिमा यसको प्रयोग, विद्यमान चुनौती तथा भविष्यका सम्भावनाबारे गहिरो विश्लेषण समेटिएको उहाँले बताउनुभयाे ।
त्यस्तै आजको बैठकले फाउन्डेसनले संचालन गर्ने विभिन्न कार्यक्रमका विषयमा समेत निर्णय गरेको छ । जसअनुसार आगामी माघ २ गते सकारात्मक सोच सम्बन्धी अनुशिक्षण, माघ १५ गते सहिद दिवशका अवसरमा वक्तित्वकला प्रतियोगिता र माघ २४ गते वनभाेज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको समेत उपस्थिती थियो । उहाँले फाउन्डेसनले पुस्तक प्रकाशन जस्तो कठिन काममा सफलता प्राप्त गरेको भन्दै धन्यवादसमेत व्यक्त गर्नुभयो ।