हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ प्रगती चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा आज तीन वटा सवारी एक आपसमा ठाेक्किएर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । इभी गाडी, स्कुटर र स्कार्पियो पिकअप एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा परेर ७ जना व्यक्ति घाइते भई उपचारका लागि हेटौंडा अस्पतालमा छन्।
हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको इभी गाडीले विपरीत दिशा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। त्यसपछि सोही इभी गाडीले पुनः रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनामा तीनवटै सवारी साधनमा क्षति पुगेको छ भने ती सबै सवारी साधन इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई राखिएको छ। स्कार्पियो पिकअप चालक भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१० निवासी करिब ३९ वर्षीय दिनेश तामाङ प्रहरीको सम्पर्कमा रहेका छन्।











