file photo

मकवानपुर । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२÷८३ को को बजेट पुनरावलोकन गर्ने भएको छ । बागमती प्रदेश सरकारको शुक्रबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पुनरावलोकनका लागि अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले वर्तमान विषम परिस्थितिमा बजेट अभाव देखिएको र प्रशासनिक पुनः संरचनाका कारण थप आर्थिक भार पर्ने भएकाले पुनरावलोकन अपरिहार्य भएको बताउनुभयो । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको सरकारले ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरु देखिनै विवादित बनेको थियो । बजेटमा देखिएका त्रुटि र बदनियतबारे अध्ययन गर्न नेपाली कांग्रेस र नेकपा एमालेका दुई–दुई प्रतिनिधि रहेको कार्यदल गठन गरी अध्ययनसमेत गरिएको थियो ।
यसअघि बिहीबार साँझ हेटौँडामा बसेको सर्वदलीय बैठकले पनि खर्च कटौती गर्ने निर्णय गरेको थियो। सरकारले पुनरावलोकनमार्फत खर्च कटौती, प्रशासनिक संरचना परिमार्जन लगायतका कदम चाल्ने तयारी गरेको छ ।
यस्तै, अघिल्लो मन्त्रिपरिषद् बैठकले १० लाख वा सो भन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट मात्र कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। चालू आर्थिक वर्षको बजेटमध्ये २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार चालूतर्फ र ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार पुँजीगततर्फ विनियोजन भएको छ।