मकवानपुर– मकवानपुरमा भुकम्प प्रभावित क्षेत्रमा खटिएका सामाजिक परिचालकका लागि आजबाट ४ दिने तालिम सुरु भएको छ । भुकम्प प्रभावित क्षेत्रका लाभग्राहीको लगत संकलन तथा आवास निर्माणमा सहयोग गर्ने उदेश्यका साथ खटिएका सामाजिक परिचालकहरुलाई तालिम दिन लागिएको हो ।

तालिमको मंगलबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख खुलालले आस्था, रंग, जात तथा कसैको दवाबका आधारमा विभेद नगरी तथ्यांक संकलन गर्न निर्देशन दिनुभएको छ । अब अन्तिम पटकका लागि सरकारले घर नबनाउने लाभग्राहीको पहिचान गर्न तथा घर निर्माणमा सहयोग गर्ने उदेश्यका साथ सामाजिक परिचालक पठाएको भन्दै उहाँले लाभग्राहीहरु छुट्न नुहुने कुरामा ध्यान दिँदै काम गर्दा कसैलाई पनि विभेद नगर्न निर्देशन दिनुभयो ।

भुकम्प प्रभावित लाभग्राहीले घर नबनाउनुका कारण तथा त्यस्ता लाभग्राहीको यकिन तथ्याङ्क संकलन गर्न विषयमा सामाजिक परिचालकहरुलाई तालिम प्रदान गर्न लागिएको बताईएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) को आयोजनामा तालिम भएको हो । ईकाई प्रमुख तुलसीराम खरभुजाको अध्यक्षतामा भएको कार्यक्रममा भुकम्प पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालय मकवानपुरका प्रमुख बिमल किशोर केपी, प्राधिकरणका तर्फबाट सहजकर्ताहरु रोशन पुरी, चन्द्रकान्त लौडारी, बिकल वाग्ले, तारा लामिछाने लगायतले सहजिकरण गर्नुहुने छ । तालिममा जिल्लामा खटिएका २९ जना सामाजिक परिचालकहरुको सहभागिता रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का बिष्णु अर्यालले जानकारी दिनुभयो ।