मकवानपुर, असार १३ । हेटौंडा उपमहनगरपालिका–९ स्थित दिव्यज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच विभिन्न व्यक्ति एवम् संस्थाका तर्फबाट सहयोग प्राप्त स्कुल पोशाक, झोला, कपी, कलम, बोतल लगायतका आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था स्तर वेन्जामिनका प्रतिनिधि सविना ओली र स्वस्तीका थापाले विद्यालयका विपन्न तथा असहाय ३० जना विद्यार्थीलाई स्कुल पोशाक, झोला, कपी, कलमलगायतका सामाग्री प्रदान गर्नुभयो । यस्तै, कोरीयन नागरिक पावल किमलगायतको समुहले ६५ जना विद्यार्थीलाई जुत्ता र मोजा तथा हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले २५ जना विद्यार्थीलाई जुत्ता प्रदान गर्नुभएको थियो ।
सोहि अवसरमा विद्यालयमा उत्पादित फलफुल एवम् कबाडी तथा कागज विक्रीबाट प्राप्त रकम, समाजसेवी पुरुषोत्तम पौडेल र वेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासु प्याकुरेलबाट प्राप्त रकमबाट करीब ६० जना विद्यार्थीलाई स्कुल पोशाक वितरण गरिएको छ । सो अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थी आदर्शा राईले विद्यार्थी परिचयपत्र, टाई, बेल्टलगायतका सामग्री निशुल्क प्राप्त गराई दिनुहुने सम्पूर्णलाई आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त सामग्रीहरु आज एक कार्यक्रमकाबीच विद्यार्थीलाई हस्तान्तरण गरिएको साथै यातायात साधन व्यवस्थापन, शैक्षिक गुणस्तर सुधारलगायत विषयमा अन्तरकृया समेत गरिएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य कमला पौडेल, विद्यालयका शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि लगायतको उपस्थिती थियो ।