नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद जातको नभई राष्ट्रको हुने बताउनु भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जो पहिलो मारियो उही पहिलो शहीद हुने बताउनु भएकाे हाे ।
शहीद जातीय विषय नभई राष्ट्रिय आन्दोलनको विषय भएको उल्लेख गर्दै उहाँले जातीय शहीद नभई राष्ट्रको शहीद हुने धारणा राख्नुभयाे । शहीद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको उहाँले आरोप लगाउनुभयाे । ओलीले भन्नुभयाे, ‘मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री छँदा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन । पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ।’
नेपालको इतिहासका सन्दर्भमा जानेका सत्य कुराहरु आफूले बताउने गरेको उल्लेख गर्दै ओलीले इतिहासलाई किम्बदन्तीबाट नेपालको वास्तविक इतिहास ल्याउनुपर्ने धारणा राख्नुभयाे । ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनका लागि पुष्पलाले योगदान गरेको स्मरण समेत गर्नुभयाे । अध्यक्ष ओलीले पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने समेत बताउनुभयाे । उहाँले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी शहीदहरुलाई सम्मान दिन नसकेको टिप्पणी गर्नुभयाे । कांग्रेसले आफ्नै पार्टीका योद्धाहरु मारिँदा समेत सहिद स्वीकार नगरेको बताउनुभयाे ।