मकवानपुर । मकवानपुर प्रहरीले ११ करोड बढी मुल्य बराबरको ८ केजी अबैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ८ किलो ४३.९७ ग्राम सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेन गरेर सुनसहित पक्राउ गरेका दुवैजनालाई सार्वजनीक गरेको छ । प्रहरीका अनुसार सो सुनको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार रुपैयाँ हुन्छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । प्रहरी उपरीक्षक खड्काका अनुसार शनिबार बिहान ३ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी टोलीले रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा सुन बरामद भएको हो । बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर सुन ल्याएको भेटिएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । बरामद भएको सुन र पक्राउ परेका कुटी र बाडलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।