मनसुन बाहिरिन ढिला हुँदा यस पटकको दशैँको टीकाको दिनमा पनि वर्षा हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले नेपालबाट मनसुन नबाहिरिएकाले दशैँको समयभरि नै केही ठाउँमा वर्षा हुने सम्भावना रहेको बताउनुभएको छ ।
उहाँले ठूलो पानी पर्ने सम्भावना नदेखिए पनि दशैँ अवधिभर पनि मनसुन सक्रिय रहने भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने बताउनुभयाे । अहिले विभिन्न मोडेलले अनुमान गरेको भन्दा धेरै वर्षा भइरहेकाले दशैँको समयमा वर्षा हुन सक्ने उहाँको भनाइ छ ।
यस्तै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले पनि नेपालमा मनसुन सक्रिय नै रहेकाले पानी पर्ने सम्भावना रहेको बताउनुभएको छ । महाशाखाले तीन दिनको मात्रै पूर्वानुमान गर्ने भएकाले दशैँको टीकाको दिन के हुन्छ भनेर अहिले भन्न नसकिने तर मनसुनी प्रणाली सक्रिय रहेकाले हल्कादेखि मध्ययम वर्षा हुन सक्ने पुडासैनीले जानकारी दिनुभयो ।
अहिले गण्डकी र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज राति पनि कोशी, मधेश, बाग्मती र गण्डकीका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा राति मौसम सफा हुनेछ ।