मकवानपुर– बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले गाँउ तहसम्म आफ्नो उपस्थिती जनाएको बताउनुभएको छ । प्रदेश सरकार गठनको दोस्रो बार्षिकोत्सवको अवसरमा बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले सरकार गठनको दुई बर्षमा गाउँ तहसम्म प्रदेश सरकारको उपस्थित पुगेको बताउनुभयो ।

दुई वर्षको अवधीमा धेरै अपजस खेप्नु परेको प्रदेशको स्थायी राजधानी र नामाकरणजस्तो जटिल विषय पनि बागमती प्रदेशले टुंगो लागेको बताउनुभयो । प्रदेश सरकार गठनको दुई बर्ष खेर नगएको भन्दै मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सरकार प्रदेशको समग्र विकासमा ध्यान दिएर काम गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले परिवर्तन सम्भव छ भन्नेकुरा परिणाममा देखाएको उल्लेख गर्नुभयो । वार्षिकोत्सवकै अवसरमा प्रदेश सरकारले दुईवर्षको अवधिमा गरेका कामलाई समेटेर प्रकाशन गरेको स्मारीका समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश तह गठनको दुई बर्षको अवधीमा विभिन्न अप्ठ्याराका बाबुजुद प्रदेशमा कानून निर्माण र विकासको काम भईरहेको बताएका थिए । प्रदेश प्रमुख विष्णु प्रसाई, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रममा प्रदेश सरकारले १३ औं साग खेलकुदमा पदक विजेता बागमती प्रदेशका खेलाडि, प्रदेशका उत्कृष्ट स्थानीय तह, संचारकर्मी, कर्मचारी लगायतलाई सम्मान गरेको थियो ।