चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराँते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनुपरेको हो ।
महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई कराँतेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।
यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । आजै भएको क्वाटर फाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबिचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् । योसँगै नेपालले जारी १९ औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।