मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएकाे श्रीचन्द्र शर्मा स्मृति सम्मान आगामी बैशाख २० गते प्रदान गरिने भएकाे छ । फाउन्डेसनको आईतबार बसेको बैठकले संस्थापक अध्यक्ष शर्माको स्मृतिमा हरेक वर्ष प्रदान गरिदै आएको नगद राशिसहितको उक्त सम्मान आगामी बैशाख २० गते विशेष कार्यक्रमको आयोजना गरेर प्रदान गर्ने निर्णय गरेको हो ।

फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले नियमित रुपमा प्रदान गरिदै आएको उक्त सम्मान शर्माकाे स्मृति दिवशकै अवसरमा प्रदान गर्ने गरि संस्थाका सचिव बोलबाहादुर कार्कीको संयोजक्त्वमा संस्थाका कोषाध्यक्ष चन्द्रावती पनेरु र सदस्य मुकुन्द अधिकारी रहने गरि ३ सदस्य सिफारिस समिति समेत गठन गरेको छ । उक्त समितिले जिल्लामा राजनैतिक एवम् सामाजिक क्षेत्रमा याेगदान पुर्याएका व्यक्तिहरू मध्येबाट नाम सिफारिस गर्ने अध्यक्ष खुलालले जानकारी दिनुभयाे ।
यस्तै बैठकले यस अघि संस्थाद्धारा सहिद दिवशका अवसमा आयोजित कार्यक्रमको समिक्षा गर्दै कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ । बैठकले सदस्यता नविकरण गर्न सबै सदस्यहरुलाई आव्हान गर्ने, साथै आगामी बैशाख २० गते नै संस्थाको अधिवेशन आयोजना गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।