मकवानपुर । मकवानपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ बसन्तपुरमा बाघको आक्रमणबाट स्थानीय ७२ बर्षीया कान्छीमाया रुम्बाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आइतबार सांझ घाँस काट्न बारीको छेउमा गएकी रुम्बालाई बाघले आक्रमण गरेको थियो । घाँस काट्न गएकि कान्छीमायाँ लामो समयसम्म पनि नफर्केपछि खोज्न गएका आफ्न्तहरुले घरबाट करीब ५०० मिटर पर शरिरको विभिन्न भागमा चोट लागी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट टाउको र पेटमा केही भाग बाघले खाएको अवस्थामा शव भेटिएको मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । पर्सा बन्यजन्तु आरक्षसंग सिमना जोडिएको मनहरी गाउँपालिकामा बन्यजन्तुले पटक पटक दुख दिनेगरेको छ । जंगली हात्ती, गैडा बाघले अन्नबाली नाश गर्ने, घरपालुवा जनावर (गाईभैसी, बाख्र, रांगाहरू) खाने, घरमा भण्डारण गरिएको अन्नबाली र घर भत्काउनेलगायत मानवीय क्षती समेत गर्ने गरेको छ ।