मकवानपुर । मकवानपुर प्रहरीले करिब पाैने तीन कराेड बराबरकाे अबैध भेप र त्यसमा प्रयाेग हुने फ्लेबरसहित पाँचजनालाइ पक्राउ गरेकाे छ । प्रदेश प्रहरी कार्यालय हेटाैंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ठूलो परिमाणमा अवैध भेप र त्यसका फ्लेवरहरू सहित पाँच जनालाई पक्राउ गरेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङमा काठमाडौँबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसमा सुरक्षाजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको जनाइएकाे छ । बसको सिलिङमा बनाइएको फल्स बटममा लुकाएर ल्याइएको करिब २ करोड ७१ लाख मूल्य बराबरको ५८ कार्टुन भेप र फ्लेवरहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा बस चालक सलाम मोक्तान, सहचालक प्रविन्द्र राना लगायत पाँच जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरूमध्ये केहीले यसअघि पनि यस्तै प्रकृतिका भन्सार छली गरेको खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उक्त सामान काठमाडौँको बालाजु बसपार्क नजिकैबाट लोड गरिएको र बसमा पहिलेदेखि नै फल्स सिलिङ बनाइएको पाइएको प्रहरीले जनाएकाे छ । बस नेपाल-दिल्ली नियमित रूपमा चल्ने आधिकारिक बस नभएको तर यात्रुहरूलाई विश्वास दिलाउन भिजिटिङ कार्डसमेत दिइएको खुलेको प्रहरीले जनाएकाे छ । पक्राउ परेका व्यक्तिहरू र बरामद सामानसहित बसलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।