सरकारले ११ देशका राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै बैठकले मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको कार्कीले जानकारी दिनुभयो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गृहमन्त्री बालकृष्ण खाँडलाई बकर इदमा सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराउनुभएको थियो । यस्तै सरकारले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकहरुलाई आग्रहसमेत गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ । लोकसेवा आयोग अध्यक्ष नेतृत्वको सिफारिस समितिले पोखरेलसहित डा महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।