मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारदेखि अन्तर शहर बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चेसको गोटी चालेर सुरुवात गर्नुभएको हो ।

आगामी चैत्र १४ गतेसम्म चल्ने प्रतियोगिताको शुरुवात गर्नुहुँदै मुख्यमन्त्री पौडेलले अनुशासन कायम राखेर खेल खेल्न खेलाडीहरूलाई आग्रह गर्नुभएको छ । उहाँले खेल क्षेत्रलाई प्रदेश सरकारले चासोका साथ हेरेको भन्दै खेलकुदको विकासमा प्रदेश सरकारको साथ रहने बताउनुभयो । उहाँले खेल क्षेत्रले नेपालको पनि पहिचान बोकेकोले खेललाई सबैले माया गरेर अगाडि बढाउनु पर्ने बताउनुभयो । आउँदो जेठ महिनामै बागमती प्रदेश सरकारले पनि प्रदेशस्तरीय खेलहरु सञ्चालन गर्ने तयारी गरेको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठले चेस प्रतियोगितालाई घरभित्रै बसेर मात्र खेल्न सकिन्छ भनेर नबुझ्न आग्रह गर्नुभयो । प्रतियोगितामा देशभरका १८ वटा टिमले भाग लिएका छन् । १४ गते सम्म हुने प्रतियोगिता टीम च्याम्पियनसिप हाल सम्मकै ठुलो भएको मकवानपुर बुद्धिचाल संघका सचिब नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । स्विस लिग अनुसार ७ चरणमा हुने खेलमा १८ टीमले प्रतिस्पर्धा गर्ने र टीममा ४ जना नियमित खेलाडी, १ जना बैकल्पिक र एक जना व्यबस्थापक गरि ६ जना सहभागी हुने जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले २ लाख ५० हाजार, उपबिजेताले १ लाख ५० हजार, तेस्रो, चौथो र पाँचौले क्रमशः ५० हजार,३० हजार र २० हजार प्राप्त गर्नेछन् भने बोर्डका उत्कृष्ट खेलाडीले जनही १० हजार पाउने हेटौंडा चेस क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले बताउनुभयो । टोलीमा महिला र १६ बर्ष मुनिको खेलाडी अनिवार्य हुनुपर्ने आयोजकले बाध्यकारी नियम बनाएको छ ।