२२ फाल्गुन २०८१, मकवानपुर । अन्तरलिङ्गी व्यक्तिहरुको मानव अधिकारको रक्षा गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार हेटौंडामा अन्तरलिङ्गी व्यक्तिहरुको मानव अधिकारको सवाल सम्बन्धी प्रदेश स्तरिय छलफल कार्यक्रममा सहभागि सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले अन्तरलिङ्गी व्यक्तिहरुको स्थिति पहिचान गरि उनीहरुको अधिकारहरू स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै क्याम्पेन फर चेन्जका संस्थापक एवम कार्यकारी निर्देशक इशान रेग्मीले अन्तरलिङ्गीको विविधताबारे बुझाइमा कमजोरी रहेको दुखेसो गर्दै सबैले सकरात्मक भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो । ‘पुराना मान्यताहरुका कारण अन्तरलिङ्गीको परिभाषा र व्याख्या गलत रुपले भइरहेको छ । विभिन्न अध्ययनले ४० भन्दा बढी अन्तरलिङ्गी विविधता रहेको कुरा औंल्याउँछ । त्यसैले अन्तरलिङ्गी आफैंमा एक छाता शब्दावली हो । तर नेपालमा यसको तथ्यांक छैन् । सरकारले चासो दिएको छैन् । प्रोत्साहन र अधिकार दिलाउन सकिरहेको छैन् । त्यसैले यसमा सरकारी एवम् गैरसरकारीलगायत सबैको सकरात्मक भूमिका आवश्यक छ,’ उहाँले भन्नुभयो ।

No description available.

क्याम्पेन फर चेन्ज नामक संस्थाद्धारा आयोजित कार्यक्रममा सहभागिहरुले अन्तरलिङ्गी व्यक्तिहरुका लागि समुदायमा सुरक्षित र उपयुक्त बातावरणको सिर्जना गर्नुपर्ने साथै क्षमता अभिविद्धि गरेर जागरुक गराउदै उनीहरुले भोगेका विभेद र असमानताहरुलाई समाधान गर्नुपर्ने बताएका छन् । सहभागिहरुले अन्तरलिङ्गी भएकै कारण समाजमा विभेद भोग्न नहुने भन्दै तीनै तहका सरकार र यससंग सम्बन्धीत सरोकारवालाहरु पनि सचेत हुनुपर्ने बताएका छन् । कार्यक्रममा बगमती प्रदेशको नीति तथा योजना आयोग, सामाजिक विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश, गैसस मकवानपुरका प्रतिनिधिलगायत अन्य सरकारी एवम् गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता थियो ।

नेपालमा पहिलो पटक अन्तरलिङ्गी व्यक्ति भएको पहिचान खुलाउनु भएका रेग्मीले सन् २०१६ देखि यसका बारेमा आवाज उठाउँदै आएको सुनाउनुभयो । विश्वमा यौनाङ्ग स्पष्ट नभएको वा पुरुष जनेन्द्रिय र योनी दुवै भएको वा अस्पष्ट यौनाङ्ग भएको अर्थात पुलिङ्गी र स्त्रीलिंगीमा नसमेटिएका व्यक्तिहरु अन्तरलिङ्गी हुने भएकाले उनीहरुका अधिकार स्थापित गर्न सबैले सकरात्मक भूमिका निर्वाह गर्न उहाँको आग्रह थियो । ‘समाजमा लैङ्गिक पहिचानको कुरा गर्दा महिला, पुरुष, तेस्रोलिङ्गी, समलिङ्गी आदीलाई मात्र बुझ्ने गरिन्छ । अन्तरलिङ्गी व्यक्तिहरुको अलग्गै पहिचान र अस्तित्व छ । अन्तरलिङ्गी वालवालिकाको समस्या, स्वास्थ्य जटिलता, सामाजिक दृष्टिकोण र मान्यताका बारेमा सबैले बुझुनु पर्ने उहाँले बताउनुभयो ।

नेपालमा अन्तरलिङ्गी व्यक्तिहरुका बारेमा पर्याप्त अध्ययन र सरकारले तथ्यांक संकलन गर्न सकेको छैन् । सन् २०१५ मा संयुक्त राष्ट्रसंघद्वारा जारी तथ्यांकपत्रमा अन्तरलिंङ्गी विविधता भएका व्यक्तिहरुको संख्या विश्वको कुल जनसंख्याको करिब ०.५ देखि १.७ प्रतिशत रहेको बताइएको छ । नेपालमा अन्तरलिङ्गी व्यक्तिहरुको अधिकारका बारेमा क्याम्पेन फर चेन्जले पहिलो पटक बहस, अन्तरक्रिया र अभियान संचालन गर्दै आएको उहाँले बताउनुभयो । अन्तरलिङ्गी भनेको एक वा एक भन्दा बढी जन्मजात यौन विशेषताहरुको शारीरिक विविधता (पौनाङ्ग, प्रजनन अंग, क्रोमोजोम, वा हर्मोनहरू) लिएर जन्मेका व्यक्तिहरूलाई वर्णन गर्ने छाता शब्द हो । जुन पुरुष वा महिला शरीरका लागि निर्धारण गरेका सामाजिक र चिकित्सा मापदण्ड तथा परिभाषाहरूमा फिट हुँदैन ।