प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं चौतारी इन्चार्ज राजेन्द्र गौतमले आज एक कार्यक्रमबीच केन्द्रीय कार्यालयमा लोगो सार्वजनिक गर्नुभएको हो ।

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चैत १० गतेदेखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुनेछ । “‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार” भन्ने नाराका साथ हुन लागेको महाधिवेशनको लागोमा कोशी प्रदेशका विभिन्न विषयवस्तु समेटिएका छन् । नेपालको गौरव र गरिमा कोशी प्रदेश (सोलुखुम्बु) मा विश्वको सर्बोच्च शिखर सगरमाथा अवस्थित छ । त्यसलाई लोगोमा समेटिएको छ । कोशी प्रदेश सूर्येदयको प्रदेश हो । सूर्येदयको दृश्य हेर्न इलामको श्रीअन्तुमा संसारभरिका पर्यटकहरु आउने गर्छन् । भनिन्छ, सूर्य पूर्वबाट उदाउँछ । त्यो लोगोमा समेटिएको छ ।
नेपालको सबैभन्दा होचो भाग केचनाकवल कोशी प्रदेशको झापा जिल्लामा अवस्थित छ । त्यसको स्तम्भ चौतारीको दशौं महाधिवेशनको लोगोमा समेटिएको छ । खासगरी चराहरुको संरक्षणको केन्द्र हो, कोशी टप्पु वन्यजन्तु आरक्ष । यहाँ करिब ४९० प्रजातिका चराहरू यहाँ पाइन्छ । त्यसलाई लोगोमा समेटिएको छ । भोजपुर, खोटाङ र सोलोखुम्बुको बीचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (संखुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगर लगायतका क्षेत्र धनकुटाको पर्यटकीय क्षेत्र हो । यो बिषय पनि लोगोमा समेटिएको छ ।
संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा छ गुराँसको राजधानी— तिनजुरे–मिल्के–जलजले (टिएमजे) । नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । टिएमजेमा मात्रै २८ प्रजातिका गुराँस पाइन्छ । त्यसलाई लोगोमा समावेश गरिएको छ । नेपालको चिया उत्पादनको मूख्य ‘चिया जोन’ कोशी प्रदेश हो । अहिले नेपालको कुल चिया उत्पादनमा कोशी प्रदेशको हिस्सा ९९ प्रतिशत छ । त्यसलाई पनि लोगोमा समावेश गरिएको छ । चौतारीको दशैं महाधिवेशनले विधान संशोधन सहित नयाँ नेतृत्व चयन गर्नेछ ।