मकवानपुर । हेटौंडामा आगामी भाेली माघ १३ गतेदेखि राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल बुद्धिचाल महासंघले आगामी माघ १३ गतेदेखि १९ गतेसम्म २५ औं राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने जानकारी दिएको हो ।
नेपाल बुद्धिचाल महासंघको प्रमुख आयोजना तथा मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको व्यवस्थापनमा हुने प्रतियोगितामा छनोट भएर आएका पुरुष र महिला तर्फ १२÷१२ गरि २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले जानकारी दिनुभयो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा मकवानपुर सहित झापा, काठमाडौ, दोलखा, रौतहट, भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाके, मोरङ, बारा, र रुकुम पुर्वका खेलाडीहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले श्रीलंकामा मार्च १० देखि १९ तारिख सम्म हुने एसियन जोनल, सन् २०२६ मा उज्वेकिस्तानमा हुने ओलम्पियाड र चीनमा हुने एसियन च्याम्पियनसीपमा सहभागी जनाउने पाउने र उक्त सहभागीताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्ने बताईएको छ । यस्तै प्रतियोगितामा दोश्रो हुनेले जनही नगद १५ हजार र तेश्रो हुनेले जनही नगद १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको आवसीय व्यवस्थापन आयोजकले नै गर्ने बताईएको छ ।











