मकवानपुर । हेटौंडा–११, स्थित सहिद स्मारक विकास समितिले हरेक वर्ष झै यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर साताव्यापी रुपमा सहिद दिवश मनाउँदैछ । सहिद दिवस–२०८१ का अवसरमा आज पहिलो दिन सहिद स्मारक परिसरमा झण्डात्तोलन गरिएको छ ।
सहिद दिवस–२०८१ का अवसरमा आज पहिलो दिन स्मारक परिसरमा ६५ फिट अग्लो डण्डीमा २२ फिट लामो साइजको राष्ट्रिय झण्डा फहराईएको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो । स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन झण्डात्तोलन गर्नुभएको खुलालले बताउनुभयो ।
स्मारक विकास समितिले सप्ताहव्यापी रूपमा माघ १० गते देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गर्ने सचिव खुलालले बताउनुभयो । उहाँले दिवशका अवसरमा पहिलो दिन आज सहिद स्मारकमा राष्ट्रिय झण्डा फहराईएको छ । यस्तै माघ ११ गते सहिद सप्ताहको औपचारीक शुभारम्भ कार्यक्रम, माघ १२ गते स्मारक परिसरमा सरसफाई, माघ १३ गते रक्तदान कार्यक्रम, माघ १४ गते प्रथम सहिद लखन थापा वाटीका हेटौंडा–१२ मा श्रद्धान्जली कार्यक्रम आयोजना हुने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भुमिका विषयक नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता, शिक्षक दौड र महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता आयोजना हुने उहाँले बताउनुभयो । यस्तै सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, सम्मान तथा पुरस्कार वितरण र समापन कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।