मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोद सिंह रानाभाट निवार्चित हुनु भएको छ । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा १०१४ मतसहित रानाभाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिद्धन्दी अनिल अग्रवाल ७६५ मतसहित पराजित हुनुभएको छ । शनिबार भएको मतदानमा दुई हजार ४६ जना मतदाता व्यवसायी मध्ये एक हजार आठ सय १६ मत खसेको थियो ।
यस्तै महासचिवमा प्रतिमा श्रेष्ठ (१०१२ मत), कोषाध्यक्षमा तेजराज अधिकारी (९१७ मत), सहकोषाध्यक्षमा निलम वैद्य (९१९ मत) निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । भने, वाणिज्य सचिवमा कुलप्रसाद चौलागाई, वाणिज्यतर्फ सदस्यमा बालकृष्ण बजगाई, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल र राजेन्द्र लामिछाने निर्वाचित हुनुभएको छ । वाणिज्यतर्फ एक हजार एक सय ५४ मत खसेको थियो ।
यस्तै उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती, उद्योग सदस्यमा भुपेन्द्रप्रसाद अधिकारी, कृष्णगोपाल महर्जन, जगदिश दहाल र उद्योगतर्फ महिला सदस्यमा सीतादेवी भेटवाल निर्वाचित हुनुभएको छ । संघको एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाई निर्वाचित हुनुभएको छ । भने, एसोसिएटतर्फको सदस्यमा नवराज खतिवडा र अंकिता सुमार्गी निर्वाचित हुनुभएको छ । एसोसिएटतर्फ ८१ मत खसेको थियो ।
यस्तै वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । वस्तुगततर्फ २६ मत खसेको थियो । वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीबीच १३–१३ मतसहित बराबरी भएको छ । यस्तै वस्तुगततर्फ सदस्यमा शम्भु पुडासैनी निर्वाचित हुनुभएको छ ।
अध्यक्षसहित २८ सदस्यीय कार्यसमिति रहेको सङ्घका दुई सचिव र पाँच जना कार्यसमिति सदस्यसहित सात जना सदस्य यसअघिनै निर्विरोध निर्वाचितभएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिनुभयो । सङ्घको एसोसियटतर्फ सचिवमा माधव ज्ञवाली र उद्योगतर्फ सचिवमा रूपकराज दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा एसोसियटतर्फ सुकृतराज पराजुली, बहुराष्ट्रिय एसोसियटतर्फ विक्रमकुमार सन्जेल, मनहरी आरक्षणमा शङ्करप्रसाद कालाखेती, महिला आरक्षणमा वाणिज्यतर्फ निलमकुमारी पाण्डे र निलम बजगाईँ निर्विरोध निर्वाचित हुनुभएको थियो ।