मकवानपुर – युवा संघ मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको अत्या गर्न दुरुत्साहन हुने अभिव्यक्ति दिएको भन्दै बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिईएको छ । प्रदेश सभा सदस्य वैद्यालाई कारबाहीको माग गर्दै युवा संघले शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको हो ।
शुक्रबार प्रदेश सभा बैठकमा वैद्यको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएपछि शनिबार वैद्यले प्रदेश सभामा माफी समेत मागिसकेका छन् । तर, वैद्यलाई कानुनी कारबाहीको माग गर्दै युवा संघ मकवानपुरले जाहेरी दिएको हो । युवा संघ मकवानपुरले वैद्य विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफ ३५ को उपदफा ३ (ख) बमोजिम कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएको छ । युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीद्वारा हस्ताक्षरित जाहेरी शनिबार मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरलाई बुझाइएको छ । युवा संघ नेपालका केन्द्रीय समिति सदस्य सन्तोष चौलागाई नेतृत्वमा युवा संघ आवद्ध एक समूहले प्रहरी उपरीक्षक राठौरलाई जाहेरी निवेदन बुझाएको हो ।