मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषध खैरो हिरोइनसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडाको छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–२, पुरानो मकवानपुररोडबाट ५ जना र हेटौँडा–१७, हटियाबाट २ जनालाई पक्राउ गरिएको हो । खैरो हेरोइनसहित हेटौँडा–२, पुरानो मकवानपुररोडस्थित शिशिर राजथलाको घरबाट ३१ वर्षीय शिशिर राजथला, ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदिप भुर्तेल, हेटौँडा–४ का ३० वर्षीय असिम कुमार बर्तौला र हेटौँडा–१ का ३० वर्षीय ओम साहलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै हेटौँडा–१७, हटिया दाबिलेबाट २ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित विदन कुमार भुजेल र बारा जिल्लाको विश्रामपुर गाउँपालिका–८, नकाटुवा टोलका २१ वर्षीय शेख आजादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनालाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर हिरासतमै राखी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।