काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल२०२०) क्रिकेटको फाइनलमा मुम्बई इन्डियन्सलाई १५७ रनको मध्यम लक्ष्य पेश गरेको छ । टस जितेर ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गर्दै साविक विजेता मुम्बईलाई मध्यम लक्ष्य पेश गरेको हो ।

दिल्लीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५६ रन बनाएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीविरुद्ध मुम्बई सुरुवातमै हावी भएको थियो । दिल्लीका अग्रपंक्तिका तीन ब्याट्सम्यान सस्तैमा समेटिदा दिल्ली सुरुवातमै दबाबमा आएको थियो । पहिलो बलमै मार्कस स्टोइनिस शुन्यमा आउट भए। त्यसपछि २.४ ओभरमा १६ रन हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्या राहाने दुई रनमा पेविलियन फर्किए। ३.३ ओभरमा २२ रन हुँदा अर्का ओपनर शिखर धवन पनि १५ रनमा आउट भएसँगै दिल्ली धरापमा थियो । 

चौथो र पाँचौं नम्बरमा आएका कप्तान श्रेयस ऐयर र रिषभ पन्तले दिल्लीलाई चौथो विकेटको लागि ९६ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। कप्तान श्रेयसले अविजित ६५ रन बनाए । उनले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै  रिषव पन्तले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ५६ रन बनाएर आउट भए। त्यस्तै, अक्षर पटेल ९ र सिमरन हिटम्यर पाँच रनमा आउट भए । मुम्बईका लागि बलिङतर्फ ट्रेन्ट बोल्टले चार ओभरमा ३० रन खर्चिएर तीन विकेट लिए। नाथन काउल्टर नाइलको नाममा दुई विकेट रह्यो । मुम्बईलाई पराजित गर्दै दिल्ली ऐतिहासिक उपाधि उचाल्ने लक्ष्यमा छ । मुम्बई भने दिल्लीलाई लगातार चार खेलमा पराजित गर्दै पाँचौं पटक उपाधि जित्न चाहन्छ ।