नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक व्यापार चार दशमलव २१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्याङ्कानुसार यस वर्षकाे साउनदेखि मङ्सिर मसान्तसम्ममा सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार भएका थियो ।
यस वर्ष आयात र निर्यात दुवै बढेको छ । साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार घटिरहेकोमा पछिल्ला दुई महिनामा उल्लेखनीय बढेको विभागको तथ्याङ्कले देखाएको छ । मङ्सिर महिनामा पछिल्लो ३८ महिनायताकै उच्च अर्थात् झन्डै २१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
भन्सार विभागकाअनुसार मङ्सिर महिनामा मात्रै झन्डै डेढ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । आयात बढे पनि ठूलो हिस्सा हुने पेट्रोलियम पदार्थमा भने गएको वर्षको तुलनामा डिजल २१ प्रतिशत र पेट्रोल सात प्रतिशतले कम आयात भएको छ ।