मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका २ सयजना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । हेटौंडा एडभेन्चर क्लबको आर्थिक सहयोगमा कैलाश गाउँपालिका स्थित कालिका माविका विद्यार्थीलाई आईतबार एक कार्यक्रमकाबीच न्यानो कपडा वितरण गरिएको हो ।
चिसो मौसममा जाडोबाट जोगाउन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष सुशिल सुबेदीले बताउनुभयो । क्लबका सदस्यहरुबाट संकलित रकमबाट करिव ९० हजार रकम बराबरको न्यानो कपडा बितरण गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष सुवेदीको सभाध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक रामचन्द्र कालाखेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि कालाखेतिले क्लबले गरेको कार्यको प्रशंशा गर्नुभयो । उहाँले आगामी दिनमा समेत यस्तै सामाजिक कार्यकोलागि शुभकामना दिनुभएको कार्यक्रम संयोजक पुरुषोत्तम रिमालले जानकारी दिनुभयो ।
हेटौंडा एडभेन्चर क्लबले नेपालमा रहेका ७७ वटै जिल्लामा रहेका बिभिन्न धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार लगायत बिभिन्न सामाजिक कार्य गर्ने लक्ष्य लिइएर सक्रिय रहेको क्लबका सल्लाहकार किरण लामिछानेले जानकारी दिनुभयो । क्लबले यस अघि असोजमा हेटौंडाका पर्यटकिय स्थलहरुको प्रचार प्रसारको लागि सम्पदा यात्रा तथा कार्तिक २१ गते देखि ९ दिने डोल्पाको यात्रा गरेको थियो । क्लबले पर्यटन खेल तथा सामाजिक क्षेत्रमा काम गरिरहेको सचिव मनोज कुमार गौतमले बताउनुभयो । क्लबमा ४१ जना सदस्य रहेका छन ।