मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणका लागि थप समावेशी बनाउन प्रदेश सरकारले सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक आज प्रदेशको राजधानी हेटौँडामा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री लामिछानेले रेडियो नेपालको बागमती प्रादेशिक कार्यालय स्थापना गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
रेडियो नेपालले नेपालको संविधान अनुरूप बहुभाषिक, बहुसांस्कृतिक एवम् समय अनुसार आफ्नो प्रसारण गरेकोमा उहाँले प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपालको प्रसारणलाई थप समावेशी, समुदाय केन्द्रित बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य सुरु गरिएको बताउनुभयो ।
कार्यकारी निर्देशक लामाले छिट्टै नै बागमती प्रदेशको राजधानी हेटौँडामा रेडियो नेपालको कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नायब कार्यकारी निर्देशक चन्द्र भुषण लाल दासले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । निर्देशक तथा योजना विकास र विस्तार महाशाखा प्रमुख पुष्करराज गौतमले रेडियो नेपालको समावेशी नीति र व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक मन्त्रालय, पर्यटन मन्त्रालयका सचिवहरू एवम् सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुखहरू, विभिन्न जातीय महासङ्घका अध्यक्ष एवम् प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले रेडियो नेपाललाई जनताको भरोसाको सञ्चारमाध्यम बनाउनुपर्ने साथै नयाँ मिडियासँग प्रतिस्पर्धा गरेर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । गण्डकी प्रदेशको पोखराबाट सुरु भएको अन्तरक्रिया कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरिने कार्यक्रमका संयोजक भिम विश्वकर्माले बताउनुभयो ।