मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई हेटौंडाबाट पक्राउ गरेको छ । प्रहरीले एक थान सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित तीनजनालाई पक्राउ गरेको हो ।
शुक्रबार हेटौंडा–१० बाट पक्राउ परेका तीन जनालाई शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेका हेटौंडा–९ का ३३ वर्षीय निश्चल पौडेल, सोही ठाउँका ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रीतम क्षेत्रीलाई सार्वजनीक गर्नु भएको हो ।
गत सोमबार राती ११ बजेको समयमा हेटौंडा–९ का सुर्य प्रसाद पौडेलको घरमा गोली प्रहार भएको थियो । गोली प्रहार भएको भनी मंगलबार दिउँसो १ बजेको समयमा प्रहरीलाई सुचना प्राप्त हुनसाथ प्रहरी प्रमुख रिजालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दा गोलीका खोका समेत बरामद भएको थियो । प्रहरीले विभिन्न स्थानका सीसी टिभीको फुटेज र कपडाको आधारमा शंका लागि अनुन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ७ राउन्ड लेखेको पेस्तोल एक थान, सोही पेस्तोलमा लाग्ने गोली १९ राउण्ड र ९ एमएमको गोली एक राउण्ड पनि बरामद गरेको जनाएको छ । यस्तै हतियार सफा गर्ने रड एक थान, लागुऔषध खैरो हेरोईन २ ग्राम ४ सय मिलिग्राम र लागुऔषध तौल गर्ने डिजिटल तराजु २ थान समेत बरामद गरेको जनाएको छ । यस्तै घटनामा प्रयोग भएको ना २५ प ३३०५ नम्बर, ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल, ५० हजार रुपैयाँ र पाँच थान मोबाइल पनि बरामद गरेको पत्रकार सम्मेलनमा जनाईएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रमुख रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।