श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको अवसर पारेर जनकपुरधाममा गए राति ३४ जोडीको सामूहिक विवाह कार्यक्रम सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपाल धनुषाको आयोजनामा जानकी मन्दिरको प्राङ्गणमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको धनुषा जिल्ला अध्यक्ष सन्तोष कुमार साहले जानकारी दिनु भएको हो ।
जानकी मन्दिरको प्राङ्गणमा मिथिलाको परम्परा अनुसार ३४ जोडीको स्वयंवर तथा सामूहिक विवाह सम्पन्न भएको र उनीहरूको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको परिषद्का धनुषा अध्यक्ष साहले जानकारी दिनु भयो ।
प्रत्येक जोडीका लागि सुनको मङ्गलसूत्र, बेहुलीका लागि १५ सेट साडी, शृङ्गारका सामाग्रीहरू, बेहुलाका लागि पाइन्ट सर्ट, धोती कुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने भाडा वर्तन, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५/२५ जनाका लागि खाजा/खानाको व्यवस्था समेत परिषद्ले गरेका थिए ।
विवाह गर्नु अघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर नगर परिक्रमा गराइएको थियो । जनकपुरधामलाई विश्वका हिन्दुहरूको लागि वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको अध्यक्ष साह बताउनुभयो ।
सामूहिक विवाहको लागि केटा र केटीको उमेर कानूनले तोकिए अनुसार नै वैवाहिक कार्यक्रम बेहुला तथा बेहुलीको सहभागिता गराउने काम भएको थियो । गरिबिका कारणले कतिपय बेहुली तथा बेहुलाको विवाह हुन नसकेको वेलामा विश्व हिन्दूपरिषद्ले सामूहिक विवाह गराएर विवाहमा हुने गरेको अनावश्यक खर्चमा कमी ल्याउने उद्देश्य राखेर सामूहिक विवाहको आयोजन गर्ने गरेको विश्व हिन्दूपरिषद् धनुषाका सचिव जानकीराम शास्त्रीले जानकारी दिनु भयो ।
विवाह पञ्चमीको अवसर पारेर विश्व हिन्दू परिषद्ले विगत ६ वर्षदेखि जनकपुरधाममा सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ । परिषद्को आयोजना गरेको सामूहिक विवाहको कार्यक्रममा आर्थिक अवस्थाले कमजोर भएका घर परिवारका बेहुला तथा बेहुलीलाई छनौट गर्ने गरेको छ ।
२० वर्ष उमेर पूरा भएकाहरुबीच उनीहरूको अभिभावकको सहमतिमा विवाह गराइदिने गरेको विवाहको दर्ता कार्यमा विगत देखि नै सक्रिय रहनु भएका सामाजिक अभियन्ता अमर श्रीवास्तवले जानकारी दिनु भयो । विवाहमा नामाङ्कनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, अभिभावकको सहमति अनिवार्य रुपमा माग्ने गरिन्छ ।
सामूहिक विवाहको कार्यक्रममा विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महासचिव पङ्कज महाराज, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, विश्व हिन्दू परिषद् नेपालका अध्यक्ष अध्यक्ष सहित विशिष्ट व्यक्तिहरू सहभागी रहनु भएको थियो ।