बाराको अमलेखगन्जबाट प्रहरीले १ करोड बढी मूल्यको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराकै कलैया उपमहानगरपालिका–५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार रहेका छन् ।
वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटरमा सवार सोनारलाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
सोनार सवार स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई लुकाएर राखिएको १ करोड २ लाख रुपैयाँ मूल्यको ६० किलोग्राम चाँदी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।