आईसीसी विश्व टेस्ट च्याम्पियनशिप २०२३ को फाइनलको पहिलो पारीमा भारत २ सय ९६ रनमा अलआउट भएकाे छ । इङ्ग्ल्यान्डको द ओभलमा भारत तेस्राे दिनकाे खाना समयपछि २ सय ९६ रन बनाउँदा अलआउट भयाे ।
भारतका अजिन्क्या रहाणेले सर्वाधिक ८९, शार्दुल ठाकुरले ५१ र रविन्द्र जडेजाले ४८ रन बनाए । अस्ट्रेलियाका प्याट कमिन्सले ३ तथा मिचेल स्टार्क, स्कट बाेल्यान्ड र क्यामरन ग्रीनले २/२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे अस्ट्रेलियाले पहिलाे पारीमा ४ सय ६९ रन बनाएको थियाे । अस्ट्रेलिया १ सय ७३ रनले अघि छ ।
भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन । भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनशिपको उपविजेता हो । २०२१ मा भएको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।