मकवानपुर । हेटौंडामा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चले संयुक्त बजार अनुगमन सुरु गरेको हो ।

अनुगमनका क्रममा दुई वटा होटललाई जनही २५ हजार जरिवाना गरिएको छ । हेटौंडामा वर्षौदेखि सञ्चालनमा आएको हेटौंडा–४, पारिजातपथस्थित दाजुभाइ फाष्टफुडलाई संयुक्त बजार अनुगमनको क्रममा उपमहानगरपालिकाले २५ हजार जरिवाना गराएको छ । चितवनको शाखाको रुपमा रहेको पारिजातपथकै वैष्णव होटललाई पनि २५ हजार नै जरिवाना गराइएको छ । यी दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको छ ।

दाजुभाइ फाष्टफुडमा भान्सा फोहोर भएको, मःम बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएकोलगायतको कमजोरी फेला परेको थियो । यस्तै दाजुभाइको खोपेगल्लीमा रहेको मिठाईको भान्सामा फोहोरको ढल निकास नगरी नजिकै मिठाई बनाइरहेको अनुगमन टोलीले फेला पारेको थियो । अनुगमन टोलीले भान्सा सुधार गर्न निर्देशन दिइएको छ ।

यसैगरी, वैष्णव होटलले कालो ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको थियो । वैष्णवमा भान्सा सरसफाई नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको थियो । वैष्णव होटलले चितवनबाटै मःमलगायतका तयारी खाद्यवस्तु हेटौंडा ल्याएर बिक्री गर्ने खुलेको छ । पारिजातपथमै अनमोल होटलको भर्खरै सञ्चालनमा आएको भनिएको नयाँ होटललाई सचेत गराइएको छ ।