मकवानपुर । हेटौंडामा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको कृषि थोक बजारको निर्माण अन्तिम चरणमा पुगेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको लगानीमा निर्माणाधिन कृषि थोक बजारको काम अन्तिम चरणमा पुगेको कृषि विकास निर्देशनालयले जनाएको छ ।
बागमती प्रदेश सरकारको ७० र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा दुई बिघा ४ धुर क्षेत्रफलमा निर्माणाधिन थोक बजार निर्माणको काम अन्तिम चरणमा पुगेको कृषि विकास निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठले जानकारी दिनुभयो । ७०÷३० को लागत साझेदारीमा २०७७ साल भदौ १४ गते हेटौंडा उपमहानगरपालिकासँग सम्झौता भई करीब एक वर्षपछि २०७८ साल असार १८ गते अनक÷माउण्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार ७ सय ८७ रुपैयाँमा ठेक्का प्राप्त गरि २०८१ जेठ भित्र सम्पन्न गर्ने गरि निर्माणको सम्झौता गरेको थियो । त्यस यता ७ महिना म्याद थप भएकाले ८ मंसिरसम्ममा काम सम्पन्न गरिसक्नुपर्नेछ ।
हालसम्म कृषि थोक बजारको भौतिक प्रगति ९६ प्रतिशत भएको निर्देशक श्रेष्ठले बताउनुभयो । सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्सिनाले जानकारी दिनुभयो । प्राविधिक मूल्यांकनमा सडक कालोपत्रे नभएकाले निर्देशनालयले सडक निर्माणका लागि ठेक्का खुलाउने तयारी गरेको उहाँले बताउनुभयो ।
निर्माणाधिन दुई तले कृषि थोक बजारको भवनमा ६३ वटा सटर रहेका छन् । थोक बजारमा होलसेल मार्केट, रिटेल (खुद्रा) मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना हुने सबइन्जिनियर तिम्सिनाले बताउनुभयो । बजारको होलसेल मार्केटमा ४० वटा सटर र रिटेल मार्केटमा २३ वटा सटर रहेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङको पनि सुविधा छ । एउटै भवनमा दुई वटासम्म लिफ्ट रहेका छन् । कृषि थोक बजारबाट भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य गर्न सकिने उहाँले बताउनुभयो । कृषि थोक बजार सञ्चालनका लागि मोडालिटी निर्माण गरेर कार्यविधि बनाएपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ ।